hello

१७ वटा ठाउँमा सवारी चलाउँदा पैसा तिर्नुपर्ने, कार्डबाट पैसा तिर्न मिल्ने व्यवस्था गर्दै सरकार

May 2026

काठमाडौं। सडक बोर्ड नेपालले नेपालमा टोल शुल्क संकलन डिजिटल तयारी थालेको छ। सडक बोर्डले समयसापेक्ष रुपमा प्रविधिको विकासलाई आत्मसाथ गर्दै सडक पूर्वाधारबाट संकलन गरिने टोल शुल्क डिजिटल रुपमा उठाउने योजना बनाएको हो।

यसअघि सरकारले चिट काटेर नगदमा टोल शुल्क संकलन गरिँदै आइरहेको थियो। तर, पुरानो सिस्टमलाई अपग्रेड गर्दै नयाँ डिजिटल माध्यम अपनाउन लागिएको हो।  सडक बोर्डका कार्यकारी निर्देशक गणेश बहादुर केसीले टोल शुल्क संकलन डिजिटल गरिने जानकारी दिए।

यसका लागि नेपाल राष्ट्र बैंकले सडक टोल (सडक उपभोग दस्तुर) संकलनलाई डिजिटल र सहज बनाउन वाणिज्य बैंकहरुलाई विशेष अनुमति दिएको छ। ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन, २०८२’ मार्फत गरिएको नयाँ व्यवस्थाअनुसार अब कमर्सियल बैंकहरुले आरएफआईडी (रेडियो फ्रिक्वन्सी आइडेन्टिफिकेसन) चिपमा आधारित प्रिपेड कार्ड वा ट्याग जारी गर्न पाउनेछन्।

यसले सडक टोल उठाउने नयाँ व्यवस्था गर्न बाटो खोल्नेछ। यो सिस्टममा भारतमा संचालनमा छ। भारतमा टोल ट्याक्सको कार्ड बनाएका छन् र त्यसलाई वार्षिक रुपमा नवीकरण गर्नुपर्छ। उनीहरुले एउटै कार्डले देशभरीको सडकमा पैसा तिरेर यात्रा गर्न सक्ने इन्टिग्रेसन सिस्टम लागु गरेका छन्। 

यस्तै नेपालमा पनि एउटै कार्डबाट टोल शुल्क तिर्न सकिने व्यवस्था मिलाउने काम भइरहेको केसीले बताए। सडक टोल संकलनको आधुनिकीकरण, डिजिटल भुक्तानीको विस्तार र सवारी चालकको समय बचत गर्नु यसको मुख्य उद्देश्य रहेको केसीको भनाइ छ। यसलाई अहिले सुरुमा नागढुंगा-नौबिसे सुरुङमार्गबाट कार्यान्वयनमा ल्याइने उनले बताए।

अहिलेसम्म ११ वटा बैंक आवद्ध हुन इच्छुक

कार्यकारी निर्देशक केसीका अनुसार अहिले सबै वाणिज्य बैंकलाई आवद्ध हुन आवेदन खुलाइसकेको छ। जसमा हालसम्म ११ वटा बैंकहरुले आवद्ध हुन इच्छा देखाएका केसीको भनाइ छ। 

त्यसमा सानिमा बैंक, नबिल बैंक, कुमारी बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, माच्छापुच्छ्रे बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक रहेका छन्।

सिस्टम बैंकले बनाएर कति समयमा कार्ड प्रयोग गर्ने भन्ने बारे निर्णय हुन्छ। सामान्यतया कार्डको म्याद १ वर्षदेखि ५ वर्षको हुन्छ। भारतमा एक वर्षमा कार्ड नवीकरण गर्नुपर्छ। भारतमा इलेक्ट्रोनिक टोल कलेक्सनको लागि फाष्ट ट्रयाक लागु गरिएको छ। यसको अवधि ५ वर्षको लागु गरिएको छ।

आरएफआईडी प्रणालीले कसरी काम गर्छ?

यो कार्ड जडान भएपछि टोल प्लाजामा रोकिएर नगद तिर्नुपर्ने छैन, स्वचालित रुपमा टोल शुल्क कट्टी हुनेछ। कार्ड वा ट्यागमा एउटा चिप र गाडीको कुनै स्थानमा अर्को राखिएको हुन्छ। जसलाई आरएफआईडी गेटमा भएको सेन्सरले रिड गरेर अटोमेटिक गेट खोलिदिन्छ।  

आरएफआईडी गेटमा जडान गरिएको उपकरणले कुनै भौतिक सम्पर्कबिना टाढाबाटै वायरलेस ट्याग वा चिपमा रहेको विवरण पढ्न सक्छ। यो प्रणाली इम्बोस्ड नम्बर प्लेटसँग सम्बन्धित चिप रिड गर्न पनि सक्षम छ।

सवारीसाधनको विन्डस्क्रिनमा सानो ट्याग (चिप) जडान गरिएको हुन्छ। यो ट्याग सवारीधनीको प्रिपेड खातासँग जोडिएको हुन्छ। सवारी टोल गेट नजिक पुग्दा गेटमा रहेको सेन्सर र क्यामेराले चिपलाई स्वचालित रूपमा स्क्यान गर्छ। त्यसपछि तोकिएको शुल्क सम्बन्धित प्रिपेड खाताबाट कटौती हुन्छ र गेट स्वतः खुल्छ। शुल्क तिर्न सवारीसाधन रोक्नै पर्दैन।

सवारीमा चिप जडान गरिएको छैन भने आरएफआईडी गेटले रिड गर्न सक्दैन। यस्तो अवस्थामा म्यानुअल वा अन्य माध्यमबाट शुल्क तिर्नुपर्ने हुन्छ।

सरकारले २२ वटा सडकमा टोल शुल्क संकलन गर्ने तयारी गरिरहेको छ। तर अहिलेसम्म भने १७ वटा सडकमा टोल शुल्क उठाउने तयारी अन्तिम चरणमा पुगेको छ। 

साथै सबै विशेष खालको सवारसाधनहरुका लागि नि:शुल्क यात्रा गर्ने व्यवस्थापन गर्नुपर्ने केसीले बताए। जस्तै एम्बुलेन्स, मन्त्रीहरुको गाडी, दमकल जस्ता सवारीसाधनहरु नि:शुल्क संद्बालन गर्न पाउनेछन्।

hello