hello

धनकुटामा प्रभावकारी बन्दै शिरोधारा उपचार पद्धति

May 2026


धनकुटा । धनकुटा स्थित सल्लेरीमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा शिरोधारा उपचार पद्धति प्रभावकारी बन्दै गएको छ । केन्द्रले नयाँ उपचार विधि विस्तार गरेपछि आयुर्वेद केन्द्रमा सेवाग्राहीको आकर्षण बढ्न थालेसँगै शिरोधारा उपचार पद्धति प्रभावकारी बन्दै गएको हो ।

आयुर्वेदिक पञ्चकर्म विज्ञान अन्तर्गत पर्ने शिरोधारा लोकप्रिय सुख चिकित्सात्मक उपचार पद्धति मानिन्छ । शिरोधारा अन्तरगत निधार वा शिरमा निरन्तर स्नेहन द्रव्य धारा दिएर उपचार गर्ने गरिन्छ ।

केन्द्रका प्रमुख डाक्टर विद्या श्रेष्ठका अनुसार शिरोधारा रोगावस्था वा रोगीको प्रकृति हेरेर तेल, घ्यू, दूध, मोही वा सादा पानी जस्ता पदार्थलाई सिधै अथवा आर्युवेदिय औषधिहरू मिलाएर दिइने गरिन्छ ।

स्वस्थ व्यक्तिको लागि भने औषधीय द्रव्य नराखीकन सादा तेल (तिल, लेभेन्डर, वदाम) को धारा दिइने गरिन्छ । पछिल्लो समय छिमेकी जिल्लाहरूबाट समेत बिरामीहरू आउने गरेका उनले बताइन् ।

शिरोधारा गर्नाले मानसिक तनाव समेत कम हुने चिकित्सकको भनाइ छ । यो उपचारका लागि पेट केही मात्रामा खाली हुनु पर्ने डा. श्रेष्ठले बताइन् । नसामा रहेकाहरू, वाथ व्याधीले ग्रस्त, ढाड तथा घाटीका समस्यले ग्रस्त, निधारका घाउ खटिरा र स्नेहन द्रव्य एलर्जी भएकाहरूले भने यो पद्धतिबाट उपचार गर्न नहुने केन्द्रले जनाएको छ ।

शिरोधारा गर्नुभन्दा अघि मुख अभ्यङ्ग गर्नुपर्ने र टेबलमा बिरामीलाई उत्तानो परेर सुताई आखामा तेल नपरोस् भनेर पट्टि बाँध्ने गरिन्छ । तेलको आवश्यक अनुसार तताएर करिब ४५ मिनेटदेखि १ घण्टासम्म तामाको भाडोबाट विस्तारै निधारमा झारी शिरोधारा गरिन्छ ।

यो उपचार विधिले आँखाको समस्या, पिनास, माइग्रेन, एलर्जी, राइनाइटिस, कपाल फुल्ने, निन्द्रा नलाग्ने, तनाव, चिन्ता, भय, उदासिनता, स्मृतिनास, कान वज्ने, रिंगटा लाग्ने, श्रवण शक्तिको कम हुने जस्ता रोगको समस्यामा समाधान हुने गर्दछ । यस्तै मनोशारीरिक रोगहरू जस्तैः उच्च रक्तचाप, मधुमेह, प्रमेह, स्वरियसिस, दम आदि जस्ता रोगहरूका लागि विषेश फाइदा हुने केन्द्रले जनाएको छ ।

केन्द्रको तथ्याङ्क अनुसार शिरोधारा उपचार पद्धतिसहित गत आर्थिक वर्षमा ७ हजार ७ सय ३० जनाले सेवा लिएका छन् । आयुर्वेद उपचार पद्धति आधुनिक प्रविधिको प्रभावले ओझेलमा पर्दै गएको अवस्थामा धनकुटामा भने यसको लोकप्रियता पुनः बढ्न थालेको छ । केन्द्रले नयाँ उपचार विधि अपनाउँदै सेवा विस्तार गरेपछि आयुर्वेदतर्फ आकर्षण बढ्न थालेको हो ।

आयुर्वेद उपचार सस्तो र राम्रो हुनकासाथै जतिबेला आए पनि सहज ढंगबाट सेवा पाइने गरेको धनकुटाकी स्थानीय प्रतिमा जोशीले बताइन् । ‘एलोप्याथिक उपचारमा भने औषधी खाएर तत्काल विराम कम हुने हुन्छ । तर आयुर्वेद औषधीले भने विस्तारै ठिक हुन्छ र असर पनि गर्दैन’, उनले भनिन् ।

अन्य उपचार विधिबाट निको नभएपछि आयुर्वेद उपचार लिन आएको कतिपय सेवाग्राही बताउँछन् । केन्द्रमा हाल ओपीडी, प्रयोगशाला, निःशुल्क औषधि वितरण, योग, पूर्वकर्म तथा पंचकर्म सेवा सञ्चालनमा छन् ।

केन्द्रले विभिन्न २३ प्रकारका आयुर्वेद औषधिहरू समेत निःशुल्क वितरण गर्दै आएको छ । केन्द्रले सहिदभूमी गाउँपालिकामा छिन्ताङ आयुर्वेद औषधालय, पाख्रिबास नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र, महालक्ष्मी नगरपालिका र चैबिसे गाउँपालिकामा आरोग्य सेवा केन्द्रमार्फत पनि सेवा दिइरहेको छ ।

hello