सरकारसँग सहकार्य गरेर काम गर्न चाहन्छौँ : गगन थापा
May 2026
सुनसरी, ८ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग सहकार्य गर्दै नागरिकका मुद्दामा काम गर्न पार्टी इच्छुक रहेको बताएका छन्।
कोशी प्रदेशस्तरीय जरा अभियान कार्यक्रममा बोल्दै उनले जनजीविकासँग सम्बन्धित विषयमा सरकारसँग संवाद र सहकार्य आवश्यक रहेको बताए। संविधान संशोधनको बहसप्रति असन्तुष्टि व्यक्त गर्दै उनले संशोधन प्रक्रिया परिपक्व ढङ्गले अघि बढाउन सुझाव दिए।
कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी नेतृत्व र सरकारी पदमा रहेका व्यक्तिबीच समन्वय आवश्यक रहेको बताए।
त्यसैगरी, महामन्त्री गुरुराज घिमिरेले कांग्रेस एकताबद्ध रूपमा अघि बढिरहेको दाबी गर्दै पार्टीलाई साझा बनाउन सबैलाई आग्रह गरे। उनले पार्टीभित्रको गुटबन्दी अन्त्य भएको पनि बताए।