hello

सामाजिक सुरक्षा योजनाको प्रभावकारिता बढाउन त्रिपक्षीय सहकार्यमा जोड

Jun 2026

धनगढी: सामाजिक सुरक्षा प्रणालीलाई अझ प्रभावकारी, समावेशी र श्रमिकमैत्री बनाउने उद्देश्यसहित सुदूरपश्चिम प्रदेशस्तरीय परामर्श कार्यशाला धनगढीमा सम्पन्न भएको छ। कार्यशालामा सहभागीहरूले सामाजिक सुरक्षा योजनालाई सीमित वर्गमा मात्र होइन, प्रत्येक श्रमिकको पहुँचमा पुर्‍याउन सरकार, रोजगारदाता र सरोकारवाला निकायले थप सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सोमबार सम्पन्न कार्यशालाले विद्यमान सामाजिक सुरक्षा योजना, यसको प्रभावकारिता, चुनौती र विस्तारका सम्भावनाबारे व्यापक छलफल गरेको हो।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षता रहेको थियो भने महासंघका केन्द्रीय उपाध्यक्ष प्रवलजङ्ग पाण्डेय प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनार विशिष्ट अतिथि रहेका थिए।

 

कार्यक्रमको उद्देश्यबारे महासंघका सहायक निर्देशक हरि पौडेलले जानकारी गराउँदै सामाजिक सुरक्षा योजनालाई व्यवहारिक र प्रभावकारी बनाउन प्रदेशस्तरबाट प्राप्त सुझाव महत्वपूर्ण हुने बताए।

कार्यक्रममा बोल्दै प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारले सामाजिक सुरक्षा कार्यक्रमको वास्तविक प्रभाव मूल्यांकन गर्दै सरकार, रोजगारदाता र श्रमिकबीचको त्रिपक्षीय संवादलाई थप सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याए। उनले सामाजिक सुरक्षालाई अधिकारका रूपमा स्थापित गर्दै यसको दायरा विस्तार गर्नुपर्ने धारणा राखेका थिए।।

सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक तथा प्रवक्ता कृष्ण अधिकारीले सामाजिक सुरक्षा कोषका नीतिगत व्यवस्था, कानुनी आधार, योगदान प्रणाली, दाबी भुक्तानी प्रक्रिया तथा विभिन्न सामाजिक सुरक्षा योजनाबारे विस्तृत जानकारी दिएका थिए। उनले औपचारिक, अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउने रणनीतिमा कोष केन्द्रित रहेको बताए।

अधिकारीले योगदानमा आधारित पेन्सन प्रणाली, सर्वव्यापी स्वास्थ्य पहुँच र आन्तरिक पूँजी निर्माणमार्फत सामाजिक सुरक्षा कोषले श्रमिकको भविष्य सुरक्षित गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रलाई समेत मजबुत बनाउने महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गरे।

कार्यशालामा सहभागीहरूले सामाजिक सुरक्षा योजनालाई अझ व्यापक र प्रभावकारी बनाउन राज्य र रोजगारदाताको जिम्मेवारीसँगै श्रमिकमा समेत सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। सामाजिक सुरक्षा कोष श्रमिककै हितका लागि स्थापना भएको सन्देश घरघरमा पुर्‍याउन आवश्यक रहेको उनीहरूको भनाइ थियो।

कार्यक्रममा हरेक कामदार सामाजिक सुरक्षामा आबद्ध हुनुपर्छ भन्ने साझा प्रतिबद्धता व्यक्त गरिएको छ। सहभागीहरूले सामाजिक सुरक्षालाई समृद्ध श्रम बजार, सुरक्षित भविष्य र दिगो आर्थिक विकासको आधारस्तम्भका रूपमा अगाडि बढाउनुपर्ने धारणा राखेका थिए।

hello