hello

सभामुखले बोल्ने समय नदिएपछि हर्क साम्पाङ बैठक छाडेर हिँडे

May 2026

सभामुख डोलप्रसाद अर्याल(डी पी)ले बोल्ने समय नदिएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) प्रतिनिधिसभा बैठक छाडेर हिँडेका छन् । मंगलबार बसेको पहिलो बैठकमा बीचमा उठेर साम्पाङले समय मागेका थिए । तर सभामुख अर्यालले समय दिएनन् ।

‘माननीय सदस्य मैले यहाँलाई समय पनि दिएको छैन, माइक पनि दिएको छैन बस्नुस्,’ सभामुख अर्यालले भनेका थिए ।

तर साम्पाङ बस्न मानेनन् । त्यसपछि सभामुखले, ‘के समय हो ? आकस्मिक समय हो कि, शून्य समय हो कि ? विशेष समय हो कि ?’ भनेर सोधेका थिए ।

साम्पाङले ‘आकस्मिक समय’ भनेका थिए । तर, सभामुखले ‘के विषयमा आकस्मिक समय ?’ प्रश्न गर्दै फेरि बस्न भनेका थिए । त्यसपछि पनि दुवैजनाबीच गलफत्ती चलिरह्यो । सभामुख अर्यालले न समय दिए, न माइक ।

सभामुखले समय नदिएपछि साम्पाङ बोलिरहे । उनले भने, ‘प्रधानमन्त्रीलाई प्रश्न सोध्यो भन्ने हिसाबले यहाँहरूले जे खेलिरहनुभएको छ, यो नियममुताबिक छैन । संसद्को भावनामुताविक छैन ।’

प्रतिपक्षलाई बोल्न पनि सीमित पारेको उनले आरोप लगाए । ‘बोल्ने कुरामा पनि हामीलाई सीमित पारिएको छ, यहाँ सत्तापक्षका साथीहरूले बोलिराख्नुपर्ने आवश्यकता हुँदैन नि । सत्ताले त काम गर्ने हो । प्रतिपक्षको प्रश्न राख्ने समय पनि छैन । जहिले पनि तीन मिनेट समय दिइन्छ, हामीलाई बाध्यता छ,’ साम्पाङले भने ।

त्यसपछि अर्को विषय भन्दै उनले सांसदहरू अनुपस्थित भएको विषय उठाए । ‘यो कुर्सी खाली छ, आधा भन्दा बढी । यसरी अनुपस्थित हुने सांसदहरूलाई के कारबाही गर्नुपर्ने हो गरियोस्,’ उनले भने, ‘हामी चाहिँ दिनभर बसिराख्नुपर्ने अरु चाहिँ बस्नु नपर्ने । म पनि एउटा दलको नेता हुँ, यहाँ पूरै लाइन खाली छ, यहाँ नआउनुपर्ने रैछ, जे जे गर्ने हो गर्नुहोला, म पनि लागेँ ।’

त्यसपछि उनी संसद बैठक छाडेर हिँडे ।

 

hello