रास्वपाको युवा तथा खेलकुद विभाग सदस्यमा भट्ट मनोनीत
May 2026

धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को युवा तथा खेलकुद विभागको सदस्य पदमा मञ्जु भट्ट मनोनीत भएकी छन्। पार्टीको केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंबाट जारी पत्रमार्फत उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।
पार्टीका महामन्त्री भूपदेव शाहद्वारा हस्ताक्षरित पत्रमा पार्टीको विधान, नीति तथा सिद्धान्तअनुसार जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
सुदूरपश्चिममा सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय भट्ट विभिन्न संघसंस्थामा आबद्ध रहँदै आएकी छन्। व्यवसायिक रूपमा उनी एमबी पोल्ट्री एण्ड सप्लायर्सकी प्रबन्ध निर्देशक हुन्।
राजनीतिकरूपमा लामो समयदेखि रास्वपामा सक्रिय उनी यसअघि पार्टीको कैलाली जिल्ला समिति सदस्यको जिम्मेवारीसमेत सम्हालिसकेकी छन्। युवा, खेलकुद, सामाजिक तथा उद्यमशीलता क्षेत्रमा उनको सक्रियतालाई मूल्यांकन गर्दै पार्टीले केन्द्रीय तहको जिम्मेवारी दिएको बताइएको छ।