प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो, शालिग्रामदेखि पशुपतिको चन्दनसम्म उपहार
1 week ago
भक्तपुर । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।
सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच हिजो भएको भेटवार्ताको क्रममा सभापति लामिछानेले नेपाल भ्रमणका लागि निम्तो दिएको भ्रमण दलमा सहभागी एक अधिकारीले बताए । प्रधानमन्त्री मोदीले पनि आफू पनि नेपाल भ्रमण गर्न उत्सुक रहेको र चाँडै नै नेपालको भ्रमण गर्ने बताएका थिए ।
भ्रमण दलमा सहभागी अधिकारीका अनुसार प्रधानमन्त्री मोदी नेपाल भ्रमण गर्न इच्छुक भएमा नेपालबाट प्रधानमन्त्रीको तर्फबाट आधिकारिक निम्तो जानेछ ।
पशुपतिको चन्दन, मिथिलाको दोसल्ला
भारतको पहिलो औपचारिक भ्रमणमा रहेका रास्वपा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीलाई विशेष उपहार पनि दिएका छन् । हैदरावाद हाउसमा बुधबार भएको वार्तापछि सभापति लामिछानेले नेपालको तर्फबाट विशेष उपहार प्रदान गरेका हुन् ।
शिवको ठूलो भक्त रहेका मोदीलाई सभापति लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले कालीगण्डकीको शालिग्राम, पशुपतिनाथको चन्दन र जनै प्रदान गरेका थिए । उनीहरुले जानकी मन्दिरको फ्रेम दिँदै मिथिला सभ्यता झल्किने विशेष सल (दोसल्ला) ओढाइदिएका थिए ।
मोदीलाई पशुपति नाथ मन्दिरको रिप्लिका (आकृति) पनि प्रदान गरिएको थियो ।