hello

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

6 days ago

काठमाडौँ: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको छ। सिंगापुरमा नेसनल क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा ओमानलाई आठ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।

ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा ६४ बल बाँकी हुँदै नौ ओभर दुई बलमा पूरा गरेको हो। नेपालका लागि लोकेस बमले सर्वाधिक ४४ रन बनाए। उनले २६ बलको सामना गर्दा ७ चौका र एक छक्काको मद्दतमा नटआउट ४४ रन बनाएका हुन्।

रोहित पौडेलले नटआउट २० बलमा २१ रन बनाए। ओपनर कुशल भुर्तेलले २० रन बनाउँदा आशिफ शेख १ रनमा आउट भए। टस जितेर सुरुमा ब्याटिङ गरेको ओमानलाई नेपालले १९ ओभर ४ बलमा ९४ रन बनाउँदा अलआउट गरेको थियो।

ओमानविरुद्ध सुरुदेखि नै कसिलो बलिङ गरेको नेपालका लागि करण केसीले तीन विकेट हात पारे। चार ओभर बलिङ गर्दा एक मेडनसहित २० रन खर्चिएर केसीले तीन विकेट हात पारेका हुन्। समान चार ओभर बलिङ गरेका सन्दीप लामिछानेले १९ रन खर्चिएर दुई विकेट हात पारे भने सोमपाल कामीले चार ओभर बलिङ गर्दा दुई विकेट हात पारे। उनले एक मेडन राख्दै २६ रन खर्चिएर दुई विकेट लिएका हुन्।

नेपालका लागि साहब आलम, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले समान एकएक विकेट हात पारे। नेपालको कसिलो बलिङविरुद्ध संघर्ष गरेको ओमानका लागि कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन बनाए। जुबैर अल बालुशीले २२, अब्दुल जलीलले १६ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपाल र समूह ‘बी’ को उपविजेता ओमानलाई पहिलो सेमिफाइनल हराउँदै फाइनल पुगेको हो। नेपालले समूह चरणको पहिलो खेलमा चीनलाई २२१ रन र दोस्रो खेलमा मलेसियालाई १६७ रनको विशाल अन्तरले पराजित गरेको थियो।

पहिलो जितसँगै एसियन गेम्समा आफ्नो स्थान सुरक्षित गरिसकेको नेपालले अब फाइनलमा समूह ‘बी’को विजेता हङकङ र समूह ‘ए’को उपविजेता मलेसियाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। छनोट प्रतियोगिताको फाइनल सोमबार सिंगापुरमा हुँदैछ।

प्रतियोगिताको नियम अनुसार सेमिफाइनल पुग्ने चारै टोली एसियन गेम्सका लागि छनोट भइसकेका छन्। समूह ‘ए’ बाट नेपाल र मलेसिया तथा समूह ‘बी’ बाट ओमान र हङकङले एसियन गेम्सको टिकट काटेका हुन्।

hello