नेपाल थारु संघको प्रथम महाधिवेशन आजदेखि सुरु
May 2026
काठमाडौं l नेपाली कांग्रेस निकट नेपाल थारु संघ को प्रथम महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले आज दिउँसो १२:१५ बजे नेपाली कांग्रेस को केन्द्रीय कार्यालय, ललितपुर स्थित सानेपामा गर्ने कार्यक्रम रहेको छ।
संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद तथा थारु समुदायको एकतालाई आधार बनाएर पहिलो महाधिवेशन आयोजना गरेको जनाएको छ। महाधिवेशनमार्फत संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउनुका साथै थारु समुदायका राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक मुद्दालाई संस्थागत रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।
संघका अनुसार यो महाधिवेशन संगठन निर्माण, नेतृत्व विकास तथा नेतृत्व हस्तान्तरणका दृष्टिले महत्वपूर्ण अवसर हुनेछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा, नीति तथा कार्यक्रम तय गर्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा नेपाली कांग्रेसका शीर्ष नेताहरू, थारु समुदायका अगुवा व्यक्तित्वहरू, विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने जनाइएको छ।
संघका नेताहरूले थारु समुदायको हक, अधिकार, पहिचान, भाषा, संस्कृति तथा प्रतिनिधित्वका सवाललाई सशक्त रूपमा उठाउँदै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा संगठनलाई अझ सक्रिय बनाउने उद्देश्यका साथ महाधिवेशन आयोजना गरिएको बताएका छन्।
महाधिवेशनले थारु समुदायलाई थप संगठित गर्दै नेपाली कांग्रेसभित्र समुदायको भूमिका र सहभागिता अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ। उद्घाटन समारोहपछि विभिन्न सत्रहरूमा संगठनको भावी रणनीति, नीति तथा कार्यक्रममाथि विस्तृत छलफल हुने कार्यक्रम छ।
महाधिवेशनमा सहभागी हुन देशका विभिन्न जिल्लाबाट थारु समुदायका सयौँ नेता तथा कार्यकर्ता काठमाडौं पुगिसकेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।