लामो समय विदामा बसेका कर्मचारी खोज्दै सरकार, हाजिर हुन तीन दिनको अल्टिमेटम
1 week ago
भक्तपुर । सरकारले लामो समयदेखि विदामा बसेका कर्मचारीलाई तीन दिनभित्र हाजिर नभए कारवाही गर्ने चेतावनी दिएको छ ।
अध्ययन तथा असाधारण बिदामा बसेका, तर बिदाको अवधि सकिएपछि पनि कार्यालयमा हाजिर नहुने र सम्पर्कविहीन भएका कर्मचारीहरूलाई कारबाहीको चेतावनी दिएको हो ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना निकाल्दै बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्किएका र व्यक्तिगत विवरण (पीआईएस) अद्यावधिक नगरेका कर्मचारीलाई ३ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको हो ।
कानुन बमोजिम अध्ययन वा असाधारण बिदा लिएका केही निजामती कर्मचारीहरू बिदा सकिएपछि पनि सम्बन्धित कार्यालयमा हाजिर नभएको र लामो समयदेखि सम्पर्कमा नरहेको गुनासो आएको मन्त्रालयले जनाएको छ ।
आफ्नो अभिलेख राष्ट्रिय किताबखानामा अद्यावधिक नभएको भए ३ दिनभित्र अनिवार्यरूपमा अद्यावधिक गराउन भनिएको छ ।