कांग्रेसले संसदीय समितिका बैठक बहिष्कार गर्ने
Jun 2026
काठमाडौं- नेपाली कांग्रेसले संसद् अवरोधलाई निरन्तरता दिँदै संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने भएको छ।
कांग्रेसका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर माफी नमागेसम्म यही जेठ २५ गतेसम्म सबै संसदीय समितिका बैठकमा पार्टीका सांसदहरू सहभागी नहुने छन्। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सो जानकारी दिएका हुन्।
आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले “नेपालले पनि भारतको भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले आपत्ति जनाउँदै संसद् अवरोध गर्दै आएको छ। उक्त अभिव्यक्तिप्रति माफी माग्नुपर्ने मागसहित कांग्रेसले निरन्तर दबाब सिर्जना गरिरहेको छ।
यसैबीच, कांग्रेसले प्रतिनिधि सभा नियमावलीलाई संशोधन गर्ने क्रममा सांसदहरूलाई कानुनभन्दा माथि राख्ने गरी प्रक्रिया अघि बढाइएको भन्दै असन्तुष्टि जनाएको छ। पार्टीले यस्ता निर्णयप्रति आपत्ति जनाउँदै संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने रणनीति लिएको हो।