ह्युमनोइड र बोशले इण्डस्ट्रियल रोबोटहरु उत्पादन गर्ने
May 2026
रोबोटिक्स कम्पनी ह्युमनोइडले जर्मन जायण्ट बोशसँग साझेदारीको घोषणा गरेको छ। यो साझेदारीले औद्योगिक प्रयोगको लागि ह्युमनोइड रोबोटहरूको बृहत उत्पादन गर्ने लक्ष्य राखेको छ।
प्रुफ अफ कनसेप्ट (पीओसी) परीक्षण पछि यो सम्झौता आएको बताइएको छ भने ह्युमनोइड रोबोटहरूले जर्मनीको बोश कारखानामा जटिल लजिस्टिक प्रक्रियामा पूर्ण क्षमताहरू प्रदर्शन गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।
यो परीक्षणमा, रोबोटहरूले गतिशील वातावरणमा र विभिन्न प्रकारका भारहरू सहित काम गर्दै कन्वेयर बेल्टबाट कार्टमा स्वचालित रूपमा बक्सहरू स्थानान्तरण गर्न सफल भएको उल्लेख गरिएको छ।
सकारात्मक नतिजाहरू पछि दुई कम्पनीहरू लजिस्टिक र म्यानुफ्याक्चर (निर्माण) जस्ता उद्योगहरूमा प्रयोग गर्ने उद्देश्यको साथ एचएमएनडी ०१ मोडेलको बृहत उत्पादनको लागि सहकार्य चरणमा प्रवेश गरेका छन्।
सम्झौता अन्तर्गत, बोश केवल एक उत्पादन साझेदार मात्र नभएर एक प्राविधिक र रणनीतिक सल्लाहकार पनि हुने उल्लेख गरिएको छ। कम्पनीले रोबोट डिजाइन, उत्पादन अनुकूलन, आपूर्ति श्रृंखला र लागत घटाउन मद्दत गर्नेछ।
आफ्नो प्रविधि वास्तविक कारखानाहरूमा प्रयोगको लागि तयार पार्ने उद्देश्यको साथ ह्युमनोइड कम्पनीले परीक्षण चरणबाट व्यापक व्यावसायीकरणमा सर्ने लक्ष्य राखेको बताइएको छ।
यो सहकार्यमा एचएमएनडी ०१ रोबोटको भविष्यका संस्करणहरूमा सेन्सर, एक्चुएटर्स र अन्य उन्नत कम्पोनेन्टहरू जस्ता बोश प्रविधिहरूको एकीकरण पनि समावेश गरिने छन्।