hello

घाँटीमा लकेटजस्तै लगाउन मिल्ने एआई-युक्त ‘पेन्डेन्ट’ ल्याउँदै मेटा

May 2026

एजेन्सी । फेसबुकको मातृ कम्पनी मेटाले घाँटीमा ‘लकेट’ जस्तै लगाउन मिल्ने एआई-युक्त ‘पेन्डेन्ट’ ल्याउने तयारी गरेको छ ।

टेकक्रन्चमा प्रकाशित एक अनुसार, मेटाले घाँटीमा ‘लकेट’ जस्तै लगाउन मिल्ने एआई-युक्त ‘पेन्डेन्ट’ विकास गरिरहेको छ । यस उपकरणलाई कम्पनीले आगामी वर्षदेखि परीक्षण गर्ने लक्ष्य राखेको छ ।

यो पेन्डेन्ट मानिसहरूले आफ्नो पहिरनमा टाँस्न वा माला जस्तै लगाउन सक्नेछन्, जसले आर्टिफिसियल इन्टेलिजेन्सको मद्दतले प्रयोगकर्ताका दैनिक गतिविधि र कुराकानीहरूलाई रेकर्ड गरी आवश्यकता अनुसार जानकारी दिन सक्नेछ ।

मेटाले सन् २०२५ को अन्त्यतिर खरिद गरेको ‘लिमिटलेस’  नामक स्टार्टअपले यो प्रविधि विकास गरिरहेको बताइएको छ । 

लिमिटलेसले पहिले नै एउटा यस्तो उपकरण बनाएको थियो जसले प्रयोगकर्ताका कुराकानीहरू रेकर्ड गर्ने र तिनलाई व्यवस्थित गर्ने गर्दथ्यो । 

मेटाले यो कम्पनी खरिद गरेपछि आफ्नो ‘एआई-इनेबल्ड वेयरएवल्स’ निर्माण गर्ने प्रक्रियालाई तीव्रता दिने बताएको थियो । 

एआई उपकरणहरूको बजार अहिलेसम्म अन्य कम्पनीका लागि खासै उत्साहजनक देखिएको छैन । यसअघि धेरै कम्पनीहरूले यस्तै प्रकारका पहिरनयोग्य यन्त्रहरू ल्याए पनि ती व्यावसायिक रूपमा सफल हुन सकेनन् । 

व्यक्तिगत गोपनीयताको चिन्ता, कमजोर बजारीकरण र उपकरणको वास्तविक उपयोगितामा प्रश्न उठ्दा उपभोक्ताहरूले यस्ता उपकरणलाई त्यति रुचाएका थिएनन् । 

तर, यति हुँदाहुँदै पनि मेटा र ओपनएआई जस्ता ठूला कम्पनीहरू यो प्रविधि ल्याउनेमै अडिग देखिएका छन् । 

ती कम्पनीहरू भविष्यमा मानिसले बोक्ने ग्याजेटमा एआई नै मुख्य आकर्षण हुने कुरामा विश्वस्त देखिएका छन् ।

यो नयाँ पहल मेटाको आर्थिक रणनीतिसँग पनि गहिरो रूपमा जोडिएको छ । रिपोर्ट अनुसार कम्पनीले केवल पेन्डेन्ट मात्र नभई आफ्नो एआई जडित चश्माको लाइनअपलाई पनि विस्तार गर्ने र कार्यस्थलमा प्रयोग गर्न मिल्ने गरी ‘वियरेबल्स फर वर्क’ नामक नयाँ व्यावसायिक योजना ल्याउने तयारी गरिरहेको छ । 

hello