गुगल र सामसुङले मिलेर ल्याए अनौठो चश्मा, फोटो र भिडियो एडिटदेखि खानासम्म अर्डर गर्न मिल्ने
May 2026
विश्वको सबैभन्दा ठूला प्राविधिक कम्पनीमध्ये एक गुगलले आफ्नो प्रमुख कार्यक्रम गुगल आई÷ओ २०२६ मा स्मार्ट चश्मा प्रदर्शन गरेको छ। जसले भविष्यमा मोबाइल फोनको आवश्यकता कम गर्न सक्छ। गुगलले आफ्नो स्मार्ट चश्माका लागि सामसुङसँग पनि साझेदारी गरेको छ।
कम्पनीले नयाँ एआईबाट सञ्चालित चश्माको झलक देखाएको छ। यसले मानिसको आवाज सुन्ने, वरपरको अवस्था बुझ्ने, फोटो र भिडियो एडिट गर्ने, बाटो देखाउने र खाना अर्डर गर्नेजस्ता कार्य पनि गर्नेछ।
यसपटक गुगलले आफ्नो एआई प्लेटफर्म जेमिनीलाई यी चश्माहरुमा पूर्ण रुपमा जडान गरेको छ। कम्पनीले यी चश्मा हेर्नका लागिमात्र नभई मानिसको डिजिटल साथीका रुपमा पनि काम गर्ने जनाएको छ।
गुगलको नयाँ एन्ड्रोइड एक्सआर स्मार्ट चश्माले सबैभन्दा धेरै चर्चा पाइरहेको छ। कम्पनीले नयाँ स्मार्ट चश्माहरु सिर्जना गर्न फेसन ब्रान्डहरु वार्बी पार्कर र जेन्टल मोन्स्टरसँग सहकार्य गरेको छ। यी चश्मामा क्यामेरा र स्पिकर हुनेछ तथा जेमिनी एआई सिधै तिनीहरुभित्र सञ्चालन हुनेछ।
गुगलले भविष्यमा यी चश्माले प्रत्यक्ष अनुवादलाई पनि समर्थन गर्ने जनाएको छ। यसको अर्थ अर्को व्यक्तिले अर्को भाषामा बोल्नेछ र अनुवाद प्रदर्शन गरिनेछ। कम्पनीले यसलाई भविष्यको एआई साथी भनेको छ।
चश्मामात्र होइन गुगलले जेमिनी ३.५ फ्ल्याश नामक नयाँ एआई मोडेल पनि लन्च गरेको छ। जुन पहिलेभन्दा छिटो र बढी बुद्धिमान भएको भनिएको छ। यो एआईले यी स्मार्ट चश्मालाई शक्ति दिनेछ। –एजेन्सी