hello

एआई इन्जिनियरहरूलाई विदेश जान चीनले लगायो रोक

May 2026

एजेन्सी । चीनले अलिबाबा ग्रुप होल्डिङ र डीपसीक जस्ता निजी कम्पनीहरूमा कार्यरत उच्च तहका कृत्रिम बुद्धिमत्ता (एआई) विज्ञहरूको विदेश भ्रमणमा प्रतिबन्ध लगाउन थालेको छ । यस कदमले आफ्नो प्रविधि सुरक्षित राख्न र यो महत्त्वपूर्ण क्षेत्रमा अमेरिकासँग प्रतिस्पर्धा गर्न चीनले चालेका उपायहरू झन् कडा हुँदै गएको संकेत गर्छ ।

सरकारी निकायहरूले देशका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने र उन्नत एआई कार्यमा संलग्न व्यक्तिहरूमाथि भ्रमण प्रतिबन्ध लगाउन सुरु गरेका छन् । यसको अर्थ उनीहरूले अब विदेश यात्रा गर्नुअघि सम्बन्धित अधिकारीहरूबाट अनिवार्य रूपमा अनुमति लिनुपर्नेछ ।

बेइजिङले वर्षौंदेखि प्रतिष्ठित विश्वविद्यालयका अनुसन्धाता, आणविक वैज्ञानिक र सरकारी कम्पनीका कार्यकारीहरूमाथि भ्रमण प्रतिबन्ध लगाउँदै आएको छ । तर, अहिले सरकारले विशेषगरी निजी क्षेत्रका एआई प्रतिभाहरूलाई लक्षित गरिरहेको छ ।

यस्तो प्रतिबन्धको जानकारी दिइएका व्यक्तिहरूमा स्टार्टअपका संस्थापक, अनुसन्धाता र कार्यकारीहरू समावेश छन् ।

चीनमा सरकारी स्वामित्वका संस्थानहरूले आफ्ना वरिष्ठ कार्यकारी र कम्युनिस्ट पार्टीका अधिकारीहरूको राहदानी सरकारी नियन्त्रणमा राख्ने गरेको कुरा सामान्य मानिन्छ । तर, सरकारले निजी कम्पनीहरूमा समेत यसरी भ्रमण प्रतिबन्ध विस्तार गर्नु असामान्य हो ।

अधिकारीहरूले व्यक्तिको पद वा काम गर्ने ठाउँका आधारमा मात्र नभई देशका लागि उनीहरूको अत्यधिक महत्त्वको मूल्यांकन गरेर यो प्रतिबन्धित सूचीमा नाम थपिरहेका छन् ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनका लागि अब दक्ष एआई इन्जिनियरहरू रणनीतिक सम्पत्ति भएको यस कदमले देखाउँछ । चीनमा धेरैजसो उच्च स्तरका एआई प्रतिभाहरू च्याटजीपीटीपछिको युगमा उदाएका हुन् र तिनीहरू प्रायः देशका ठूला प्रविधि कम्पनी वा निजी स्टार्टअपहरूमा कार्यरत छन् ।

यद्यपि, यस्ता प्रतिबन्धहरूले चीनका एआई कम्पनीहरूलाई नयाँ प्रतिभा भर्ना गर्न र उनीहरूलाई कम्पनीमा टिकाइराख्न गाह्रो पार्ने जोखिम छ । यसले निजी क्षेत्रमा सरकारी हस्तक्षेप कतिसम्म छ भन्ने चिन्ता पनि बढाएको छ ।

हालै मानुस नामको एआई कम्पनीलाई मेटाले २ अर्ब डलरमा किन्ने सम्झौतालाई लिएर बेइजिङले देखाएको कडा प्रतिक्रियाले पनि यस क्षेत्रमा त्रास बढाएको छ । मानुस चीनमा सुरु भएर सिंगापुर सरेको कम्पनी थियो जसको अधिग्रहणलाई बेइजिङले प्रविधि र प्रतिभाको क्षति ठानेको थियो ।

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय र डीपसीक तथा अलिबाबाका प्रतिनिधिहरूले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

प्रविधि चुहावट रोक्नु बेइजिङको मुख्य नीतिगत लक्ष्य हो । तर, यस्तो कडा नीतिले विश्वव्यापी महत्त्वाकांक्षा बोकेका इन्जिनियरहरूलाई आफ्नो करियरको सुरुवातमै चीनमा बस्ने कि विदेश जाने भन्ने कठिन छनोट गर्न बाध्य पार्ने देखिन्छ ।

गत वर्ष पनि अमेरिकी सञ्चारमाध्यमले चिनियाँ अधिकारीहरूले एआई संस्थापक र अनुसन्धाताहरूलाई अमेरिका भ्रमण नगर्न सल्लाह दिएको उल्लेख गरेका थिए । तर, अहिलेको कदम त्यसभन्दा धेरै कडा र औपचारिक देखिएको छ ।

hello