hello

ड्राइभिङ अनुभव सुरक्षित बनाउन गुगलको उन्नत लेन ट्र्याकिङ प्रविधि घोषणा

May 2026

टेक कम्पनी Google ले आफ्नो म्याप्स सेवा थप उन्नत बनाउँदै चालकका लागि ‘लाइभ लेन गाइडेन्स’ नामक नयाँ सुविधा सार्वजनिक गर्ने घोषणा गरेको छ । यो फिचरले गाडी चलाउने क्रममा लेन चयनलाई अझ सुरक्षित र सहज बनाउने लक्ष्य राखेको छ ।

यसअघि Google Maps ले सडकमा कति लेन छन् र कुन लेन प्रयोग गर्ने भन्ने सामान्य जानकारी मात्र दिने गर्थ्यो । तर नयाँ प्रणालीले रियल–टाइममा गाडीको स्थिति विश्लेषण गरी चालकलाई तत्काल सही लेनमा सर्न निर्देशन दिनेछ, जस्तै ‘बायाँ सर्नुहोस्’ वा ‘दायाँ सर्नुहोस्’ भन्ने स्पष्ट संकेतहरू।

यो प्रविधि एआई र फ्रन्ट–फेसिङ क्यामेराको संयोजनमा आधारित हुनेछ, जसले सडकका लेन चिन्ह र ट्राफिक संकेतलाई प्रत्यक्ष रूपमा पहिचान गरी विश्लेषण गर्नेछ । तर यो सुविधा सबै प्रणालीमा उपलब्ध हुनेछैन ।

गुगलले स्पष्ट पारे अनुसार यो फिचर स्मार्टफोन-आधारित Android Auto मा उपलब्ध हुनेछैन । यसको सट्टा यो केवल गाडीमै इम्बेड गरिएको Android Automotive प्रयोग गर्ने सवारी साधनहरूमा मात्र सीमित रहनेछ ।

किनभने यस प्रणालीलाई गाडीको क्यामेरा र आन्तरिक सेन्सरसँग प्रत्यक्ष एकीकरण आवश्यक हुन्छ, जुन Android Auto मार्फत सम्भव हुँदैन । Android Auto केवल मोबाइल स्क्रिनको एक्सटेन्सन भएकाले हार्डवेयर पहुँच सीमित हुन्छ ।

यो नयाँ एआई–आधारित नेभिगेसन अनुभव पहिलो पटक Polestar 4 मा उपलब्ध गराइनेछ । यस गाडीमा चालकले ड्यासबोर्ड डिस्प्लेमार्फत आफ्नो गाडीको लेन स्थिति र आवश्यक निर्देशनहरू वास्तविक समयमा हेर्न सक्नेछन् ।

अन्य सवारी साधनमा भने यो सुविधा क्रमशः विस्तार गरिनेछ, तर कुन मोडल पहिले समावेश गरिने भन्ने विस्तृत सूची कम्पनीले सार्वजनिक गरेको छैन ।

hello