बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती
16 hours ago
भोजपुर : परम्परागत बालीमा बाँदरको बढ्दो क्षतिका कारण समस्या झेलिरहेका यहाँको पौवादुङमा गाउँपालिकाका किसान अहिले वैकल्पिक नगदेबालीतर्फ आकर्षित हुन थालेका छन् ।
विशेषगरी अदुवा खेतीलाई सुरक्षित र आम्दानीमुखी विकल्पका रूपमा लिँदै गाउँपालिकाले योजनाबद्ध रूपमा अदुवा खेती विस्तारमा जोड दिएको हो ।
कृषिमा आधुनिकीकरण तथा किसानको आयस्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले अदुवा खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको हो ।
अदुवा खेती विस्तारको लागि गाउँपालिकाले रु २० लाखको कार्यक्रम सञ्चालन गरेको छ । जसमा गाउँपालिकाको रु १० लाख र किसानको रु १० लाख लागत साझेदारी रहेको छ । यस कार्यक्रममार्फत वडा नं ६ ठूलोदुम्माका सात वटा कृषि फर्मलाई अनुदान सहयोग प्रदान गरिएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हाल ठूलोदुम्माको करिब १०० रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको जानकारी दिए । यहाँ अदुवा खेतीको राम्रो सम्भावना रहेकोले गाउँपालिकाले यसको खेती विस्तारमा जोड दिएको उनको भनाइ छ ।
“अदुवा खेतीले बजारमा राम्रो मूल्य पाउने र दीर्घकालीन रूपमा आम्दानी दिन सक्ने भएकाले यसको सम्भावना राम्रो देखिएको छ,” उनले भने ।
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राइले विगत वर्षदेखि बाँदरको आतङ्कका कारण मकै, कोदो, आलु जस्ता परम्परागत बालीमा ठुलो क्षति हुँदै आएको बताइन् । बाँदर आतङ्कको विकल्पमा गाउँपालिकाले अदुवा खेती विस्तारमा जोड दिएको उनले जानकारी दिइन् ।
“बाँदरका करण किसानले लगानी गरेको मेहनत खेर जाने अवस्था बनेपछि हामीले वैकल्पिक समाधान खोज्नुपर्यो,” उनले भनिन्, “अदुवा खेतीमा बाँदरको क्षति न्यून हुने भएकाले किसानलाई यसतर्फ प्रोत्साहित गरेका हौँ ।”
कृषि शाखाका प्राविधिक वर्तेन्द्र राईले किसानलाई बारीमै पुगेर तालिम, प्राविधिक परामर्श तथा अनुगमन गर्ने काम भइरहेको उनले जानकारी दिए । अदुवा खेतीको सम्भावना उच्च भएकाले सही प्रविधि र आवश्यक व्यवस्थापनको विषयमा किसानलाई जानकारी दिने काम भइरहेको उनको भनाइ छ ।
“ठूलोदुम्मा क्षेत्रमा अदुवाको राम्रो सम्भावना छ” उनले भने, “अन्य बालीको तुलनामा बाँदरले अदुवा खेतीमा कम क्षति पुर्याउने भएकाले किसान यसको खेतीमा लागेका छन् । हामी पनि किसानलाई खेतबारीमा पुगेर आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ ।”
गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्दै कृषिलाई व्यावसायिक बनाउने दीर्घकालीन लक्ष्य राखिएको बताए । “हामी किसानलाई परम्परागत खेतीबाट व्यावसायिक कृषितर्फ रूपान्तरण गराउँदै लैजान चाहन्छौँ,” अध्यक्ष राईले भने, “फलफूल, अदुवा, बेसारजस्ता नगदेबालीमार्फत गाउँमै रोजगारी सिर्जना गर्ने र आयस्तर बढाउने हाम्रो योजना हो ।”
अनुदान सहयोग पाएपछि अदुवा खेती विस्तार गर्न निकै सहज भएको स्थानीय किसान दिलिप राईले बताए । उनका अनुसार पहिले मकै तथा अन्य बाली लगाउँदा बाँदरले धेरै नोक्सान पुर्याउने गरेको थियो ।
“अदुवा खेतीमा भने बाँदरको क्षति कम हुन्छ,” उनले भनिन्, “त्यसैले अहिले हामी व्यावसायिक रूपमा यसतर्फ जुटेका छौँ । खेती विस्तारका लागि गाउँपालिकाको सहयोग महत्त्वपूर्ण बनेको छ ।”
स्थानीयस्तरमै उत्पादन वृद्धि गर्दै बजारसँग जोड्न सकेमा अदुवा खेतीले किसानको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अर्का युवा किसान समिर राईले बताए ।
बाँदरले कम क्षति गर्ने भएकाले हाल आफूले ३० क्षेत्रमा अदुवा खेती विस्तार गरेको उनले जानकारी दिए । आगामी दिनमा थप क्षेत्रफलमा अदुवा खेती विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।