बिर्तामोडमा आजदेखि रोजगार मेला
17 hours ago

बिर्तामोड, जेठ ३० । बिर्तामोड नगरपालिकाको आयोजनामा आजदेखि अतिथि सदनमा ‘बिर्तामोड रोजगार मेला’ सुरु हुँदैछ । मेला आज र भोलि सञ्चालन हुनेछ ।
बिर्तामोड उद्योग वाणिज्य संघको सहकार्यमा अतिथि सदनमा दुई दिनसम्म सञ्चालन हुने मेलाको तयारी सम्पन्न भएको सहजकर्ता सेवक बजगाईंले जानकारी दिए । उनका अनुसार शुक्रबार साँझसम्म २५ वटा स्टलका बुकिङ भएका छन् । शनिबार बिहानसम्म केही रोजगारदाता कम्पनी थपिन सक्ने जनाइएको छ ।
रोजगार मेलामा अहिलेसम्म निश्चित भएका रोजगारदाता संस्थाहरूमा डिडी सेक्युरिटी, दिया रिलाएबल, नेपाल लाइफ इन्स्योरेन्स, झापा प्राविधिक शिक्षालय, होटल व्यवसायी संघ, नेपाल भेनियर उद्योग संघ, बिर्तामोड जब सेन्टर, महिला उद्यमी समूह, ग्रिल तथा स्टिल व्यवसायी संघ, रोजगार नेपाल, नेपाल औषधि व्यवसायी संघ छन् ।
त्यस्तै, इगल इन्टरनेसनल, कम्प्युटर एसोसिएसन नेपाल (क्यान), फायरउड वेकर्स, त्रिशक्ति जब सेन्टर, निर्माण व्यवसायी संघ, डाइनामिक बिजनेस, मोबाइल एसोसिएसन, नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी), कनकाई एग्रो इन्जिनियरिङ, नेपाल कर सहयोगी श्रमिक संगठन, एमसीएचएस फर्म इन्डस्ट्रिज, नेपाल अलैँची व्यवसायी महासंघ, गुडलक फ्लावर संघ र नागरिक सामुदायिक अस्पताल रहेका छन ्।
बाँकी स्टलहरूमा रोजगार सेवा केन्द्र, प्राथमिक उपचार केन्द्र, सोधपुछ कक्षलगायतका सेवा रहनेछन् । शनिबार उद्घाटन कार्यक्रमसँगै उद्योगीहरूसँग अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको छ ।
रोजगार मेलाबाट सयौँ जनाले रोगगारी प्राप्त गर्नेछन् । नगरपालिकाका अनुसार १८ देखि ५९ वर्ष उमेर समूहका शिक्षित, अशिक्षित, दक्ष तथा अदक्ष सबै नागरिकका लागि यो मेला लाभदायक हुनेछ ।
विशेषगरी भर्खरै औपचारिक शिक्षा पूरा गरेका विद्यार्थी, औपचारिक शिक्षाका साथै विशेष सीप भएका व्यक्ति, वैदेशिक रोजगारीबाट फर्केका सीपयुक्त नागरिक र वैकल्पिक समयमा काम गर्न चाहने व्यक्तिहरू मेलामा सहभागी हुन सक्नेछन् ।