ब्लुस्काईले सार्वजनिक गर्यो ग्रुप च्याट सुविधा
18 hours ago
सामाजिक सञ्जाल ब्लुस्काईले बिहीबार समूह च्याट सुविधा सार्वजनिक गरेको छ। यो सुविधा एपलाई यसको ठूलो प्रतिस्पर्धी एक्ससँग थप प्रतिस्पर्धी बनाउन ल्याइएको हो।
इलन मस्कको स्वामित्वमा रहेको एक्सले हालै छुट्टै एक्सच्याट एप सार्वजनिक गर्दै च्याट सेवामा जोड दिएको बेला ब्लुस्काईले पनि अब आफ्ना प्रयोगकर्तालाई प्लेटफर्मभित्र निजी रूपमा समूहमा संवाद गर्ने सुविधा उपलब्ध गराएको हो।
टेकक्रञ्चका अनुसार सामाजिक सञ्जाल एपको नवीनतम संस्करण (v1.124) मा उपलब्ध भएको यो सुविधा ब्लुस्काईको समुदाय-केन्द्रित बन्ने योजनाअन्तर्गतका प्रारम्भिक कदममध्ये एक हो। कम्पनीले अब केवल ठूलो सार्वजनिक दर्शकमाझ सामग्री पुर्याउने सामाजिक सञ्जाल बन्नेभन्दा समुदायमा केन्द्रित हुने रणनीति अपनाउन थालेको छ।
यो रणनीतिक परिवर्तन ब्लुस्काईको प्रयोगकर्ता वृद्धि सुस्ताएको समयमा आएको हो। हाल यस प्लेटफर्ममा करिब ४ करोड ४८ लाख दर्ता प्रयोगकर्ता छन् भने एक्सका मासिक सक्रिय प्रयोगकर्ता ६० करोड छन्।
यदि ब्लुस्काईले एक्स वा मेटाको थ्रेड्सजस्ता प्रतिस्पर्धीको स्तरमा विस्तार हुन नसकेमा प्रयोगकर्तालाई आकर्षित गर्न सामाजिक सम्बन्धका फरक माध्यमहरू प्रदान गर्नुपर्ने अवस्था आउन सक्छ।
कम्पनीले २०२४ मा सन्देश आदानप्रदान सुविधा थपेको थियो। हालै मात्र यसले तेस्रो-पक्ष सन्देश सेवा जर्मसँग एकीकरण गरेर इन्क्रिप्टेड च्याट उपलब्ध गराउन थालेको थियो। अब ब्लुस्काइले ५० जनासम्म सहभागी हुन सक्ने समूह च्याट सुविधा ल्याएको छ।
यो संख्या एक्सले समर्थन गर्ने १,००० सदस्यको तुलनामा कम भए पनि सुरुआती चरणका लागि पर्याप्त रहेको कम्पनीको भनाइ छ। भविष्यमा यो सीमा बढाउन सकिने पनि कम्पनीले जनाएको छ।
समूह च्याट सिर्जना गर्ने व्यक्तिले च्याटलाई आफ्नो आवश्यकता अनुसार व्यवस्थापन गर्न सक्नेछन् र कसले सहभागी हुन पाउने भन्ने निर्णय गर्न सक्नेछन्। उनीहरूले निमन्त्रणा लिंक सिर्जना गरी वेबमा वा ब्लुस्काई पोस्टमार्फत साझेदारी गर्न सक्नेछन्।
च्याटमा सहभागी हुने प्रयोगकर्ताले पनि आफूलाई च्याटमा कसले निमन्त्रणा दिन पाउने भन्ने नियन्त्रण गर्न सक्नेछन्। यसका लागि ‘सबै’, ‘आफूले फलो गरेका व्यक्ति मात्र’ वा ‘कोही पनि होइन’ भन्ने विकल्प उपलब्ध छन्। पूर्वनिर्धारित रूपमा ‘आफूले फलो गरेका व्यक्ति मात्र’ विकल्प सक्रिय रहनेछ, जबसम्म प्रयोगकर्ताले प्रत्यक्ष सन्देशका लागि अर्को विकल्प चयन गर्दैनन्।
समूह च्याटमा मिडिया फाइल साझेदारी गर्ने सुविधा भने हाल उपलब्ध छैन। यसका लागि थप सुरक्षा र सामग्री व्यवस्थापन प्रणाली आवश्यक पर्ने ब्लुस्काईले जनाएको छ।
ब्लुस्काईका उत्पादन प्रमुख एलेक्स बेन्जरले हालैका पोस्टहरूमा कम्पनीले आगामी दिनमा एपलाई अझ समुदाय-केन्द्रित बनाउने योजना रहेको बताएका छन्।
उनले लेखेका छन्, “आज ब्लुस्काइ एउटा ठूलो साझा स्थान हो। समुदायहरू त्यसभित्रका साना स्थान हुनेछन्, जहाँ समान रुचि भएका मानिसहरूसँग अझ गहिरो रूपमा अन्तरक्रिया गर्न सकिन्छ।”
बेन्जरका अनुसार कम्पनीको उद्देश्य एटी प्रोटो प्रोटोकलमा आधारित थप समुदाय सुविधाहरू विकास गर्नु हो, जसमा व्यापक डेभलपर समुदायको पनि सहयोग रहनेछ।
उनले थपे, “ब्लुस्काइमा तपाईंले समुदाय सिर्जना गर्न, त्यसमा सहभागी हुन, सामग्री पोस्ट गर्न र अद्यावधिकहरू प्राप्त गर्न सक्नुहुनेछ।”
यसको समय पनि अर्थपूर्ण मानिएको छ, किनकि एक्सले अप्रिलमा कम प्रयोग र अत्यधिक स्प्यामका कारण आफ्नो ‘कम्युनिटिज’ सुविधा बन्द गर्ने घोषणा गरेको थियो। ब्लुस्काइले भने बढी नियन्त्रण र स्वामित्व चाहने प्रयोगकर्तालाई लक्षित गर्दै त्यही खाली स्थान भर्ने प्रयास गरिरहेको देखिन्छ।
बेन्जरका अनुसार ब्लुस्काइका समुदायहरूको आफ्नै ह्यान्डल हुनेछ, जुन यूआरएलका रूपमा पनि प्रयोग गर्न सकिनेछ, जस्तै community-name.bsky.social वा community-name.bsky.space समुदायहरू सार्वजनिक, निमन्त्रणा-आधारित वा निजी बनाउन सकिनेछ, जुन फेसबुक समूह वा रेडिटमा उपलब्ध विकल्पसँग मिल्दोजुल्दो हुनेछ।
समुदाय सुविधामार्फत ब्लुस्काइले ठूलो प्रविधि कम्पनीद्वारा सञ्चालित प्लेटफर्मबाट बाहिरिन चाहने प्रयोगकर्तालाई आकर्षित गर्ने अपेक्षा गरेको छ। कम्पनीका अनुसार खुला प्रविधिमा आधारित सेवाले प्रयोगकर्तालाई आफ्नो अनुभवमाथि बढी नियन्त्रण दिनेछ।
समूह च्याटसँगै ब्लुस्काइको नयाँ संस्करणमा व्यक्तिगत क्यूआर कोडमार्फत प्रोफाइल साझेदारी गर्ने सुविधा पनि थपिएको छ जुन अन्य सामाजिक सञ्जाल एपहरूमा उपलब्ध सुविधाजस्तै रहेको टेकक्रञ्चले उल्लेख गरेको छ।