hello

अवैध रुपमा ‘डाक्टर’ लेख्नेहरुलाई ३ वर्षसम्म कैद सजाय

May 2026

अब अवैध रुपमा आफ्नो नामको अगाडि चिकित्सक (डाक्टर) लेख्नेहरुलाई ३ वर्षसम्म कैद सजाय हुने भएको छ।

नेपाल मेडिकल काउन्सिलले एउटा सूचना जारी गर्दै गैरकानुनी ढंगले डाक्टर लेख्नेहरुलाई कारबाही हुने सम्बन्धमा जानकारी गराएको हो। सूचनाअनुसार नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकबाहेक अन्य जुनसुकै विधा वा परिषदमा दर्ता भएका वा नभएका व्यक्तिहरुको नामको अगाडि मात्र (डा.) उपाधि प्रयोग गरी आधुनिक चिकित्साको भ्रम सिर्जना गरेमा वा आधुनिक औषधि सिफारिस गरेको पाइएमा काउन्सिलको ऐनमा रहेको व्यवस्थाविपरीत भएको ठहरिने र सोही ऐनबमोजिम ३ वर्षसम्म कैद सजाय वा ३ हजार रुपैयाँसम्म नगद जरिवाना वा दुवै सजायका लागि सिफारिस गरिनेछ।

काउन्सिलले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्नो आधिकारिक कागजपत्र, प्रेस्किप्सन प्याड, क्लिनिकको साइनबोर्ड, भिजिटिङ कार्ड तथा सम्पूर्ण सामाजिक सञ्जालबाट अवैध रुपमा लेखिएको डाक्टर उपाधि हटाउन अल्टिमेटम दिएको छ।

तोकिएको अवधिपछि काउन्सिलको विशेष अनुगमन टोलीले स्थलगत तथा डिजिटल माध्यमबाट कडा अनुगमन गर्ने सूचनामा उल्लेख छ। त्यस क्रममा ऐनविपरीत अवैध रुपमा डाक्टर उपाधि प्रयोग गरेको पाइएमा ऐनबमोजिम कसुरको मुद्दा चलाउने चेतावनी पनि काउन्सिलले दिएको छ।

 

hello