अनेमसंगठनले एकता राष्ट्रिय भेला गर्दै
May 2026
अखिल नेपाल महिला संगठनले ‘एकता राष्ट्रिय भेलाको औचित्यः आर्थिक स्वतन्त्रतासहितको पूर्ण समानुपातिक सहभागिताको सुनिश्चितता’ भन्ने नाराका साथ जेठ १६ गते काठमाडौँमा एकता राष्ट्रिय भेला गर्ने भएको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गतको यो महत्वपूर्ण जनसंगठनले गत कार्तिक १९ गते विभिन्न १० कम्युनिस्ट घटकको एकतापछि पार्टीमा जारी एकतालाई निरन्तरता दिँदै आफ्नो संगठनमा पनि एकता प्रक्रिया अघि बढाएको जनाएको छ।
संगठनका संयोजक दामा शर्माका अनुसार काठमाडौँको चक्रपथस्थित अरिकल भेन्युमा जेठ १६ गते बिहान ११ बजे हुने उक्त भेलामा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
देशभरबाट करिब पाँच सय महिलाको सहभागिता रहने अनुमान गरिएको छ। भेलापछि संगठनले देशभर संगठनको एकता, समायोजन र विस्तारको काम गर्ने तथा महिलाको आर्थिक स्वतन्त्रतासहितको पूर्ण समानुपातिक सहभागिता सुनिश्चित गर्न पहलकदमी गर्ने जनाएको छ।
भेलाको पूर्वसन्ध्यामा १८औँ गणतन्त्र दिवसको सन्दर्भमा जेठ १५ गते साँझ ६ बजे माइतिघर मण्डलामा दीप प्रज्वलित गरिने संगठनले जानकारी दिएको छ।
प्रेस विज्ञप्तिमा शहादत प्राप्त गर्ने महान् शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनमा योगदान दिने सबै महिला नेताहरूलाई स्मरण गरिएको छ।
भेलाले एकता प्रक्रियामा जोडिएका सबै महिला संगठनलाई एकीकृत गरी संगठनको कामलाई अघि बढाउने विश्वास लिइएको छ।