hello

आज नीति तथा कार्यक्रम ल्याउँदै सुदूरपश्चिम सरकार

Jun 2026

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।

मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो। प्रदेशसभा बैठक सोमबार दिउँसो ३ बजे बस्ने कार्यसूची रहेको छ। बैठकमा प्रदेश प्रमुख नजिर मियाँले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।

यस्तै, मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम प्रदेश विकास परिषद्बाट पारित दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदालाई स्वीकृत गर्दै कार्यान्वयनमा लैजाने निर्णय समेत गरेको छ।

प्रदेश नीति तथा योजना आयोगले तयार पारेको उक्त योजना पहिलो पञ्चवर्षीय योजनाको समीक्षा, सङ्घीय सरकारको सोह्रौँ योजना, संविधान तथा प्रचलित कानुन, आर्थिक सर्वेक्षण र सरोकारवालासँगको परामर्शका आधारमा निर्माण गरिएको जनाइएको छ।

‘समुन्नत, सुन्दर सुदूरपश्चिम’ को दीर्घकालीन सोचसहित तयार पारिएको योजनाले प्रदेशवासीको जीवनस्तर उकास्ने लक्ष्य लिएको छ। उत्पादन वृद्धि, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, पूर्वाधार विस्तार, स्वास्थ्य तथा शिक्षाको गुणस्तर सुधार, वातावरण संरक्षण तथा सुशासन प्रवर्द्धनलाई योजनाको मुख्य प्राथमिकतामा राखिएको छ।

योजनामा कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रलाई आर्थिक वृद्धिको आधारका रूपमा अघि सारिएको छ। साथै यातायात, ऊर्जा, खानेपानी र डिजिटल पूर्वाधारको विस्तारलाई विशेष जोड दिइएको छ। सामाजिक क्षेत्रमा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने तथा जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण र विपद् जोखिम न्यूनीकरणका कार्यक्रमलाई समेत प्राथमिकतामा समेटिएको छ।

hello